पहिलो विश्वकपको पहिलो ऐतिहासिक जित


खेल: नेपाल र हंगकंग
स्थान: चटगाँउ, बंगलादेश
समय: २०७०/१२/०२, :१५(नेपाली समय)
२०७० सालको चैत्र २ गते एक ऐतिहासिक दिन त थियो नै,साथै एक अविश्मरणीय दिन भईदियो। ऐतिहासिक यस कारण कि नेपाल कुनै पनि खेलकूदको विधामै विश्वकप खेल्न लागेको पहिलोपटक हो र अविश्मरणीय यस कारण कि नेपालले हंगकंग जस्तो टिमलाई ८० रनको विशाल जित दर्ता गरायो,त्यो पनि २० ओभरको खेलमा। साँझको चकमनाहत बढे सँगै नेपाली क्रिकेटप्रेमीहरुको उत्साह,रौनक पनि बढ्दै थियो। नेपाली क्रिकेटप्रेमी क्रिकेट हेर्न आअफ़्नै व्यवस्था गर्दै थिए, कोई ठुलो स्क्रीन प्रोजेक्टरमा,कोई परिवार सँग टिभी मै, कोई इन्टरनेटको माध्यम बाट त कोई लोडसेडिंगको कारणले मोबाइलमा लाइभ स्कोर हेरेर चित्त बुझाउदै थिए।

साँझ ६:५० को समय टसको थियो जसले कुन टिमले पहिला व्याटिङ्ग वा बलिङ्ग गर्छ भनेर निर्धारण गर्दछ। नेपाली क्रिकेटको टार्गेट दिनेमा भन्दा पछ्याउने बेलामा सफल भएको इतिहास भएको हुदा नेपालले पहिला बलिङ्ग गरे नतिजा हाम्रो पक्षमा हुन सक्ने आंकलन गरिएको थ्यो।तर नेपाली टिमलाई टस मा साथ मिलेन। टस जितेर नेपाललाई हंगकंगले पहिला ब्याटिङ्गको निम्तो दियो। खेल अगाडि प्रायको अनुमान यस्तै थियो: टस जसले जित्छ, नतिजा उस्कै पक्षमा। तर नतिजा आयो ठीक विपरीत।
खेल सुरु हुनु अघि नेपालको झन्डा अन्तर्राष्ट्रीय मैदानमा फरफराउदा र राष्ट्रिय गान बज्दा कुन चाहि नेपालीको मन फ़ुरुङ्ग नहोला? सबैले र मैले पनि गहभरी आँसू पारेको थिए। चटगाँउको त्यो मैदान हेर्दा लाग्थ्यो त्यो कुनै बंगलादेशको मैदान हैन, हाम्रै नेपालको हो। कारण: नेपाली समर्थक(विद्यार्थी)को उल्लेख्य उपस्थिति। हंगकंगका समर्थक ज्यादै न्यून थिए र पो कमेन्टेटर पनि आश्चर्यचकित हुदै भन्दै थिए: "OMG!Nepali Fanfare! Where are HongKong's supporters?"
यसैबिच ठीक ७:१५ बजे खेल सुरु भयो। नेपालको पहिलो विश्वकप यात्रा सुरु भयो। ओपनिङ्ग व्याट्समेन सुवास खकुरेल र सागर पुन व्याटिङ्ग गर्न क्रिजमा आए। अरु बेला यस ओपनिङ्ग जोडी खासै जम्न नसकेको भनी आलोचना भएपनि यस खेलमा त्यसो भएन। यस जोडीले ३६ रनको आकर्षक साझेदारी गर्यो।नेपालको आक्रामक व्याटिङ्गले नै पुरै गेमको झझल्को भने दिईसकेको थियो। तर २० ओभरको खेलमा एकै ओभरले पनि खेलको नतिजा उल्टिन सक्ने भएकाले यसै भन्न सकिने अवस्था भने थिएन ।
         नेपालको पहिलो क्षति सागर पुनको विकेट पतन सँगै सुरू भयो । उनी २ चौका सहित २२ रनको पाली खेल्दै मैदानबाट बिदा लिए । त्यसको ३ बल लगत्तै प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल पनि २२ रनको पाली (४ चौका सामेल) खेल्दै पभेलियन फर्के । यससँगै नेपालले दबाबमा खेल्नुपर्ने प्राय दर्शकहरूको अनुमान थियो । तर नेपालका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालिएको प्रदर्शन गर्दै सम्मानजनक योगफल तर्फ नेपाललाइ अग्रसर गराए । नेपालको विष्फोटक ब्याटिङ्लाइ निरन्तरता दिदैँ र विकेट बचाउँदै यस जोडीले ८० रनको आकर्षक साझेदारी गर्यो । नेपालको T20 इतिहासमै तेस्रो विकेटको लागि यो कीर्तिमानी साझेदारी हो । ३६ रन बनाउँदा २ विकेट झरिसकेको नेपालको स्थितिलाइ यस जोडीले उल्ट्याँउदै तेस्रो विकेटको क्षति हुँदासम्म नेपाललाइ ११६ को डसम्मानजनक योगफल सम्म डोर्याएको थियो । १६.२ ओभरमा नेपालका पारस खड्का क्याच आउट हुन पुगे । साथै T20 करियरमा पारसले आफ्नो व्यक्तिगत ५०० रन पुरा गर्न पनि उनी सफल रहे । अन्तिम ओभरमा भने नेपालको पालि धराशायी बनेको थियो । अन्तिम ४ बलमा नेपालका ४ ब्याट्सम्यान: ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, नरेश बुढेयर र शक्ति गौचन आउट हुन पुगेका थिए र नेपालले हंगकंगलाइ जितका लागि १५० रनको चुनौती पेश गर्यो ।
          ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रन बनाए । उनी अर्धसतक प्रहार बाट मात्र २ रनले चुके । खेलको एउटै छक्का उनको ब्याट बाटै प्रहार भएको थियो । १४९ रनको उच्च योगफल पेश गरेपछि नेपाली क्रिकेटप्रेमीको मनमा उथलपुथल, ढुकढुकी बढेको थियो । कोही जितको सुनिश्चिततामा रम्दै थिए त कोही जितको लागि भगवानसँग प्रार्थना गर्दै थिए । सामाजिक सन्जाल ट्वीटर त पुरै क्रिकेटकै बहस र लाइभ स्कोरमै केन्द्रित थियो भने फेसबुकको नि त्यस्तै हालत थियो ।
            यसैबीच खेलको दोस्रो इनिंग पनि सुरू भयो । भगवानले नेपालीहरूको पुकार सुनेर वा पारसको बलिङ्गको कमाल वा भाग्य पहिलो बलमै हंगकंगको पहिलो विकेट पतन भयो । पारसको उत्कृष्ट बलिङ्गमा हंगकंगका प्रारम्भिक ब्याट्सम्यान इरफान विकेट किपर सुवास खकुरेलको सिकारमा परे । कुनै पनि टिमको समग्र ब्याटिङ प्रारम्भिक ब्याट्सम्यानको टिकाउमा भर पर्दछ । पहिलो बलमै विकेट झरेसी हंगकंग यसै त तनावमै थियो नै त्यसमाथि रंगशालामा उपस्थित नेपाली फ्यानको समर्थनमा हंगकंग नतमस्तक हुन पुगेको थियो । यता क्रिकेटमा रमिरहेका हामी नेपालीहरुलाइ त के नै चाहियो र ? हामी सबै उफ्रिन थालिहाल्यौं । दोस्रो ओभरको अन्त्य हुन नपाउँदै नेपालका तेज बलर सोमपाल कामीको घरापमा परे हंगकंगका कप्तान एट्किन्सन (कमेन्टेटरको भाषामा BIG FISH) । त्यसबखत सोमपालले उनलाइ जिस्काएको यादगार छ । बोल्ड आउट गराए पश्चात सोमपालले अनुहारमा हात लगेर तल माथि गर्दै एट्किन्सनलाइ जिस्काएका थिए । सार्है हेर्न लायक क्षण थियो त्यो । हंगकंग सम्हालिएको प्रदर्शन गर्दै १०.३ ओभरमा ५८ रन नबनाएको हैन तर उसको चौथो विकेट पतनसँगै हंगकंग खेलमा फर्किन सकेनन् र उसले प्रत्युत्तरमा अल आउट हुँदै मात्र ६९ रन बनाउन सफल रह्यो । र नेपालले आफ्नो पहिलो विश्वकपको पहिलो खेलमा ८० रनको विशाल अग्रताले हंगकंगसामु जित दर्ता गरायो ।


नेपालमा रमझम

          यता नेपालमा जितको ठूलो रौनक थियो । रातको १० बजे पनि नेपालको जितको खुसियालीमा राजधानीका विभिन्न ठाँउमा र्याली निकालिएको थियो भने बसन्तपुर, पाटन दरबार स्क्व्यार त पुरै नेपाली दर्शकहरूको 'जय नेपाल जय पारस' का स्वरले गुञ्जायमान थियो । राजधानी बाहिर पनि विभिन्न ठाँउमा मोटरसाइकल र्याली नै निकालिएछ । त्यति राति विना भोक, विना तिर्खा, विना कुनै थकाइ सबै नेपाली क्रिकेट फ्यान चिच्याँउदै थिएः "नेपाल नेपाल नेपाल................." , "ताली बजाइदेउ नेपाली, विश्वकपमा हामी यसपाली........"
          यता सामाजिक सन्जाल फेसबुक र ट्वीटर नेपाली र नेपाली क्रिकेट टोलीलाइ बधाइको सन्देशले नै भरिएको थियो । नेपालका नेताहरूले पनि सामाजिक सन्जालकै माध्यमबाट बधाइ प्रदान गर्दै थिए । यस जितले सबै नेपालीहरूको छाती फेरि एकचोटी चौडा पारिदिएको छ। धेरै धेरै बधाइ मेरो पनि ती सच्चा नेपाली सन्तानलाइ, ती खेलाडीलाइ जसले नेपालको नाम विश्वभर पुर्याइदिएका छन्, जसले नेपालको क्रिकेट प्रतिभा विश्वसामु चिनाइदिएका छन् । धेरै धेरै बधाइ ।


खेल समीक्षा तथा केही तथ्य

         टस जितेर हंगकंगका कप्तान एट्किन्सनले पिचलाइ बुझ्न नसक्नु र नेपाललाइ ब्याटिङगको निम्तो दिनु उसको लागि दुर्भाग्य सावित भयो भने हाम्रो लागि सौभाग्य । भारतीय महादिपमा पीच स्पीनरको सुविधा र फाइदा लिन सक्ने दृष्टिकोणले बनाइएको हुन्छ । खेलको दोस्रो इनिंगमा बल ब्याटमा आउनै छाडिसकेको थियो भने त्यसको भरपुर फाइदा उठाए नेपाली स्पीनरहरूले । शक्ति गौचन यसै त अनुभवी खेलाडी हुन् नै र उनको क्षमता अनुसारकै पीचको स्थिति हुनु हाम्रो लागि सौभाग्य नै हो ।
          यसैबीच हंगकंगले फिल्डिङमा धेरै नै गल्ति गरेको थियो । उसले कप्तान खड्काकै दुइ क्याच ड्रप गर्यो भने बाउन्ड्री कट्न बाट रोक्न सक्ने धेरै बल उसले रोक्न सकेन । यसले नेपाललाइ अप्रत्याशित फाइदा दिलाएको थियो ।
          चटगाँउको मैदानको माहोल हेर्दा त्यो कुनै बंगलादेशको मैदान जस्तो लाग्दैन थियो । त्याँहा उपस्थित तीन हजार नेपाली समर्थकले त्यहाको माहोल कीर्तिपुरको मैदानको जस्तो बनाएको थियो । नेपाली दर्शकको उल्लेख्य उपस्थितिले कमेन्टेटरलाइ त अचम्मित थिए नै, हंगकंगको टिम नै पनि आश्चर्यचकित परेको थियो । खेल अवधिभर नेपाली समर्थकले "पारस खड्का, छक्का पड्का" भन्ने नारा लगाएका थिए र हंगकंग निराश बन्न पुगेको थियो । (#Source: ESPN news) खेलपश्चात हंगकंगका कप्तान एट्किन्सन आफैले पनि भनेका थिएः "हामीमा नेपाली समर्थकको अपार उपस्थितिले केही दबाब सिर्जना गरेकै हो र खुलेर खेल्न सकेनौ ।"
          बंगलादेश केही वर्षयता नेपाली विद्यार्थीहरूको एमबीबीएस पढ्ने गन्तव्य बनेको छ । नेपालकै गेम हेर्न ढाका बाट १२ घण्टाभन्दा बढी बसको यात्रा तय गरेर खेल हेर्न आउने विध्यार्थीको बाक्लो उपस्थिति रहेको थियो । नेपालको जर्सी लगाएर समर्थन गरिरहेका थुप्रै समर्थकहरू देख्न सकिन्थ्यो ।
तथ्य
  • विश्वकपमा पुगेको पहिलो खेलबाटै जितको सुरूवात ।
  • नेपाली कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय T20 खेलमा व्यक्तिगत ५०० रन पुरा
  • शक्तिको उत्कृष्ट प्रदर्शन । उनले ४ ओभरमा मात्र ९ रन दिएर ३ विकेट लिए भने वसन्त रेग्मीको नि प्रशंनीय बलिंग रह्यो । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट नै लिए । सोमपाल र पारसले २, २ विकेट लिए ।
  • हंगकंगले बनाएको ६९ रन T20 कै इतिहासमा दोस्रो कम योगफल हो । यसअघि आयरल्याण्डले वेष्ट इन्डिजमाथि ६८ रनको सबैभन्दा कम योगफलको इतिहास रहेको छ ।
  • हंगकंगसँगको जितपछि अब नेपाल विश्वकपमा जितबिहिन रहेन । धेरै टिमहरू विश्वकपमा पटक पटक पुगेर नि अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन् ।
  • विश्वकपमा पहिलो सहभागिता जनाएका सोमपाल कामी प्रतियोगिताकै कान्छो खेलाडी हुन । उनी मात्र १८ वर्षका हुन 

कप्तानको प्रतिक्रिया
          कप्तान पारसले जित पश्चात भने "आज होली हो । सम्पूर्ण नेपालीका लागि यस जित होलीको उपहारको रूपमा दिएका छौं । नेपाली र नेपाली समर्थक सबैमा मेरो हार्दिक धन्यवाद । यो सुरूवाती मात्र हो । हामी जितेर मात्तिने र हारेर आत्तिनु हुँदैन् । यसपछि नि जित्नु नै छ । "



अन्तमा नेपाली टिमलाइ आगामी खेलको लागि शुभकामना । आशा छ हामी सुपर १० मा पुग्नेछौं

Comments

Popular Posts