जीवन एक संघर्ष (मेरो बुझाइ)

कुनै पनि मानिसको जीवनको यात्रा उसको जन्मबाट सुरु हुन्छ । मलाइ कसैले भनेका थिए कि एउटा बच्चा जन्मिने बित्तिकै यस कारण रुन्छ कि उसले मृत्युसम्मको यात्रामा गर्नुपर्ने संघर्ष सबैको झल्को देख्छ । मेरो व्यक्तिगत विचारमा पनि जब एउटा बच्चा जन्मिन्छ, तब उसलाइ भगवानले पुरै जीवनमा गर्नुपर्ने मिहिनेत, आइपर्ने कठिनाइ, चुनौतीहरू सबै एक झल्को देखाउँछन् । यति लामो जीवन जीउनु छ र त्यसमा पनि ती सबै कठिनाइ सम्झेर नै त्यो बच्चा रून्छ ।
      मानिसको जीवन जन्मदेखि बच्चा, बालक, युवक, अधवैँशे, वृद्ध हुँदै मरणसम्म पुग्छ र जीवनको अन्त्य हुन्छ । यस पाँच खण्डमा उसले निकै संघर्ष भोग्नुपर्छ । संघर्षविना उसको जीवनको एक डेग नि अघि सर्दैन ।
      बच्चा अवस्था मैले -२ वर्षसम्मको लाइ मानेको छु । यस अवस्थामा उसले खासै संघर्ष गर्नुपर्ने नदेखिए पनि उसले संघर्ष भने गर्नुपरेकै हुन्छ । आफ्नो पेट भर्ने एउटै माध्यम नै उसको आमाको दूधपान हो । ती ओठहरू बोल्न सक्ने भएका हुन्नन् । उ बोल्न नसक्दा उसको भोकाइमा रूनुबाहेक कुनै विकल्प हुन्न । उसको रूवाइ नै एक संघर्ष हो । त्यो संघर्षको फल उसले अमृतसमान आमाको दूध पाँउछ । विना संघर्ष (रोदन) यहाँ कुनै आमाले आफ्नो बच्चालाइ दूध पिलाउँदैनन्, भलै उनको बच्चा भोकाएको उनले थाह नपाएको हुन पनि सक्छ । भर्खर जन्मेको बच्चा दिसापिसाब गर्न ट्वाइलेट जाने कुरै भएन, उसले आफ्नै कपडामा फोहोर गरिदिन्छ । उ अब संघर्ष गर्न थाल्दछ । उ रून्छ । त्यो संघर्षको फल उसले नयाँ कपडा वा लुगा पाँउछ । यहाँ कुनै आमाले बच्चा नरोइकन (संघर्ष नगरी) उसले फोहोर गरेको थाह पाउँदैन । बच्चालाइ विभिन्न रोग पोलियो, हेपाटाइटिस्, टिटानस आदि रोग नलागोस भन्ने हेतुले उसलाइ विभिन्न खोप लगाइन्छ । मेरो बुझाइमा यो खोप उसलाइ आउने दिनहरूमा थप चुनौती सामना गर्न र संघर्ष गर्न जोड दिने उपायले लगाइएको खोप हो ।
      उसले आमाको दूधपान गर्न छाडेपछिको समय (३ देखि १० वर्ष) सम्मको लागि म बालक भन्दछु । यस अवधि उसको रम्ने अवधि हो । उसको त्यति लामो जीवनमा कुनै खण्डमा पनि यस खण्डमा जस्तो रमाइलो र स्वतन्त्रता अनुभुत गर्न पाउँदैन । उसको जीवनको यस खण्ड बालकपन नै सबैभन्दा कम संघर्ष गरिने खण्ड हो । उसको उमेर समूहका साथीहरूसँग मिल्ने, खेल्ने, हाँस्ने, झगडा गर्ने समय हो यो । जीवनको कठिनाइको स्वाद जिब्रोमा लिने खण्ड पनि हो यो । उसलाइ विद्यालयमा भर्ना गर्नुको तात्पर्य पनि यही नै हो ताकि उसले त्यो स्वाद लिन सकोस् । उ कक्षाकोठाका साथीहरूसँग घुलमिल हुन्छ र पछि धेरै थरीका मान्छेहरूसँग घुलमिल हुन सकोस् र संघर्ष गर्न सकोस् । बाल्यावस्थाको अन्त्यसम्म उसले संघर्ष बाटै सिकेको हुन्छ विभिन्न क्षमता जस्तैः हिँडडुल, पढाइ, लेखाइ, दौड़ाई तथा अन्य विभिन्न भोगाइहरू ।
      बाल्यावस्था पछिको खण्ड ११ देखि ३० वर्षसम्मको अवधिलाइ म युवक(यहाँ युवक भन्नाले दुवै युवक युवती बुझ्नुहोला) अर्थात अङ्ग्रेजीमा Teenager पनि भन्दछु । यस कालखण्डमा उसले बाल्यावस्थामा भन्दा नि बढी संघर्ष गर्नुपर्ने हुन्छ । यस खण्डमा उसको विभिन्न शारीरिक, मानसिक, व्यावहारिका तथा सामाजिक परिवर्तन आउँदछ । उसले जीवनको कठिनाइलाइ बुझ्न थाल्दछ र त्यही अनुसारको संघर्ष पनि गर्न थाल्दछ । उ बिग्रिने वा सप्रिने उसले यस खण्डमा गर्ने संघर्षले नै दिशानिर्देश गर्दछ । जीवनको संघर्ष बुझेर त्यही अनुसारको संघर्ष गर्दै अगि बढे उ सकरात्मक दिशातिर लम्किन्छ भने 'जीवन भनेको दुइ दिनको रमाइलो हो' भनी उसले फिक्री नगरे उ नकरात्मक दिशातिर लम्किन्छ । युवक जाँड रक्सी खाने, चुरोट खाने, लागु पदार्थको नशामा झुम्ने आफ्नो यौन प्यास मेटाउन तीर लाग्दा उसले आफ्नो जीवनको अपमान गर्दछ र उसको बाँकी रहेको जीवन व्यर्थै व्यतित हुन्छ । जसले यस खण्डमा जीवनको सही मूल्याङ्कन गरेर त्यही अनुसार संघर्ष गर्छ उ नै सफल मान्छे बन्दछ । यस खण्ड यति संवेदनशील हुन्छ कि उसले यस अवधिमा गरेको संघर्षले उसलाइ जीवनभर सगुन ल्याइदिन्छ भने कर्तुतले जीवनभर नबिर्सिने क्षण ल्याइदिन्छ ।
      मान्छेको ३० देखि ६० वर्षसम्मको अवधिलाइ अधवैँशे भनेर परिभाषित गर्दछु । पारिवारिक/ आर्थिक भार आफ्नो काँधमा आउने, बाँकी जीवन व्यतित गर्न जीवनसाथी खोज्ने, बालबच्चालाइ आफुले सिकेको संघर्ष सिकाउने, वृद्ध बा-आमालाई स्याहार सुसार गर्ने कार्य सबै यस खण्डमा पर्दछन् । यस खण्ड जीवनकै सबैभन्दा बढी संघर्ष गर्नुपर्ने र परिणाम नि स्वीकार्नै पर्ने खण्ड पनि हो । उसले युवक अवस्थामा सिकेका ज्ञान र अनुभव गरेका तीता/मिठा घटना उपयोग गर्नुपर्ने, कमाइ खाने भाँडोको खोजीमा भौतारिने, आफुले विराएका, सिक्न छुटाएका कुराहरूबाट पश्चाताप गर्ने वा गर्व गर्ने खण्ड हो यो । घरको चुलो बाल्न जोहो गर्ने, बालबच्चाको पढाइको रहोवर गर्ने, अर्धाङ्गिनीको लिपिस्टिक, साडी व्यवस्था गर्ने देखि बाआमाको हेरचाह गर्ने सबै जिम्मेवारी उसकै टाउकोमा हुन्छ । यी विभिन्न पारिवारिक झमेला टाल्न उसले चाहे मनग्य कमाएर हुन्छ वा ऋण गरेर हुन्छ वा इज्जत टालोले छोपेर बाटोमा मागेर हुन्छ, उसले संघर्ष गरेकै हुन्छ । उसले ११-३० वर्षको अवधिमा गरेको संघर्षको परिणाम पाउने खण्ड पनि हो यो । यस्तै संघर्ष झेल्दै गर्दा उसदलाइ आफ्नो जीवन बितेको पत्तो नै हुन्न ।

      सबै खाले संघर्ष सकेर अन्त्यमा विभिन्न रोग, पीडासँग संघर्ष गर्ने चाँहि वृद्दावस्थामा हो । ६० वर्ष माथि कुनै पनि मान्छेको हाड खिइसकेको हुन्छ । उसको अन्य संघर्ष गर्ने शक्ति क्षीण भइसकेको हुन्छ । अब मात्र उसलाइ कालसँग संघर्ष गर्नु छ । यस पृथ्वीमा जन्मेसी सबैले एक न एक दिन यहाँबाट बिदा भएर जानुपर्ने नियम नै हो । अन्तिम अवस्थासम्म उ मृत्युसँग संघर्ष गरिरहन्छ भने जब उसको त्यो क्षमता पनि हराउँछ, उसलाइ मृत्युले अँगाल्छ र उ यस संसारबाट बिदा हुन्छ ।
      तसर्थ मानिसको जीवन पुरै संघर्ष नै संघर्षले भरिएको छ । यस अमूल्य जीवनलाइ विना संघर्ष मोजमस्ती मात्र बिताएर किन खेर फाल्ने ? तथापी मैले पुरै जीवन संघर्ष नै संघर्षले बिताउनुपर्छ भनेर भन्न खोजेको पनि हैन । हरेक कुराको समय हुन्छ । समयमा गतिलाइ नियाल्दै र अाफ्नो परिस्थितिलाइ बुझेर त्यही अनुसारको संघर्ष वा मोजमस्ती गर्नु नै मनासिब देखिन्छ। 

Comments

Popular Posts