भक्तपुरको प्रसिद्ध विस्केट जात्रा
नेपाल विभिन्न कला-संस्कृति, धर्म, जात/जाति, पेशा, पहिचान आदिले भरिपूर्ण देश हो । विभिन्न क्षेत्रमा आआफ्नो धर्म संस्कृति अनुसार विभिन्न जात जातिले आआफ्नो तरिकाले चाड पर्व तथा जात्राहरू मनाउने गर्दछन् । 'अनेकतामा एकता' त नेपालीहरूको पहिचान नै हो । यस्तै विभिन्न जात्रा मध्ये नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरमा एक प्रसिद्ध ऐतिहासिक मान्यता बोकेको जात्रा पनि मनाइन्छः विस्केट जात्रा ।
नेपाली नयाँ वर्ष 'वैशाख १' गतेको दिन देशैभर नयाँ उमंग, उल्लास रहेको हुन्छ नै
भक्तपुरमा भने विस्केट जात्राले त्यो उल्लासमा थप उल्लास थपिदिन्छ । यस विस्केट
जात्राको आफ्नै महत्तव रहेको छ । यस जात्रा ८ रात ९ दिन लामो हुन्छ । भक्तपुरका
बासिन्दाका लागि यस जात्रा कुनै दशैँको रौनक भन्दा कम हुन्न ।
किंवदन्ती
विस्केट जात्राको इतिहास पल्टाउने हो भने यसको
सुरूवात सम्बन्धी एउटा रोचक तथ्य रहेको छ । भक्तपुरका राजा जगज्योति मल्लका छोरी
यानिकी राजकुमारी रहेछिन् । राजकुमारी सँग बिहे गर्ने जो कोहीको बिहेकै रात
रहस्यमय तरिकाले मृत्यु हुँदो रहेछ । यस्तै
घटना अरू २, ३ जना राजकुमारीका वरसँग पनि घटेको रहेछ । यसबाट आजित राजा उनकी
छोरीसँग विहे गर्न कसैले पनि हिम्मत गरेनछन् । एकजना बहादुर राजकुमार भने रहस्य
पत्ता लगाएरै छाड्ने बाचासहित राजकुमारीसित बिहे गर्न राजी भएछन् । बिहेको रात उनी
राजकुमारीसँग सँगै सुतेछन् तर उनी नसुती चनाखो रूपमा बसेछन् । मध्यरातमा राजकुमारी
निदाइसकेपछि उनका नाकका दुइ प्वालबाट दुइ अजंग किसिमका नाग निस्किएछन् । राजकुमार
ननिदाइ तयारी अवस्थामा रहेकाले उनले तुरून्तै तरबार निकालेर ती दुइ नागको टाउको
काटिदिएछन् । ती नागले डसेर नै यसभन्दा अघिल्ला राजकुमारीका वरहरूको मृत्यु भएको
रहेछ भन्ने रहस्य पनि पत्ता लागेछ । यी बहादुर राजकुमार भने सकुशल नै रहे ।
भोलिपल्ट बिहानै बाँसको अग्लो लिङ्गोमा राखेर ती दुइ नागलाइ देखाइएछ ।
त्यसपछिका हरेक वर्षमा निरन्तर हुँदै आजका दिनसम्म
पनि यस जात्रा भक्तपुरमा मनाइने गरेको छ । 'विस्केट'
शब्द मूल 'विस्याट' शब्दबाट अपभ्रंशित रूप हो । "विस्याट" शब्द 'वि' र 'स्याट'को समासबाट
बनोट भएको हो । नेवारी भाषामा 'वि' को अर्थ नाग र 'स्याट' को अर्थ मार्नु हो । अर्थात नाग मारिएको जात्रा । यसरी विस्याट
जात्रा उच्चारणमा अपभ्रंशित हुँदै विस्केट उच्चारित हुन पुगेको कथन रहेको छ ।
कसरी मनाइन्छ?
९ दिन ८ रात लामो यस जात्रालाइ ५ भागमा विभाजन गर्न
सकिन्छ:
·
भैरब
र भद्रकालीको दुइ रथलाइ तान्ने ।
·
भैरबनाथको
प्रतिक मानिने ५५ हाते लामो लिङ्गो ठड्याउने । (यस लिङ्गोलाइ स्थानीय भाषामा ले-सिन-द्यो पनि
भन्ने गरिन्छ । )
·
उक्त
लिङ्ग ठडाइएको भोलिपल्ट विधिपूर्वक दश कर्म विधान गरी लिङ्ग ढाल्ने ।
·
माता
महालक्ष्मी र महाकालीको रथ तान्ने । र
·
भक्तपुरको
भेलुखेलमा लगेर लिङ्गको विधिपूर्वक समापन गर्ने ।
यस जात्राका सुरूवाती दिनमा भक्तपुरका स्थानीय
युवाबीच भैरव र भद्रकालीको रथ तानातान नै हुन्छ । उनीहरू आआफ्नो बलबुताले
भ्याएसम्म आफ्नै टोलमा रथको विसर्जन गर्न चाहन्छन् । रथ तान्दा विभिन्न प्रमुख
ठाँउहरूमा रोक्ने र त्यहाँ स्थानीय बासिन्दाहरूले रथलाइ फूल, टीका, सिक्का,
सिन्दूर आदिले पूजा गर्छन् ।
विस्केटको ९ दिन मध्ये नववर्ष र नववर्षको अघिल्लो दिन
नै प्रमुख दिन हो । विस्केट जात्राको चौथो दिन पुरानो वर्षको विदाइको पूर्व
सन्ध्यामा भैरवनाथको प्रतीक मानिने पचपन्न हाते लामो लिङ्गो ठड्याइन्छ । लिङ्गो
ठड्याउनुअघि लिङ्गोको कोखा 'टुप्पो'मा नाग र नागिनीको प्रतीकस्वरूप दुइवटा ध्वजा
बाँधेर अष्टमातृका प्रतीक आठवटा डोरीले ठड्याएको भोलिपल्ट नयाँ वर्षका दिन आठ कुनामा
बसेर लिङ्गो ढालिन्छ । लिङ्गको कोखामा झुन्ड्याइएका दुइ ध्वजालाइ वीरध्वजा र
विश्वध्वजा वा आकासभैरवका ध्वजा समेत भन्ने गरिन्छ ।
लिङ्ग ठड्याउँदा भाँच्चिए देशमा अनिकाल लाग्ने
विश्वास रहिआएको छ । त्यस्तै लिङ्ग ढालिँदा लिङ्ग जुन दिशातर्फ ढल्छ, त्यही दिशामा
पानी चाँडो पर्ने र धान धेरै फल्ने विश्वास रहेको छ । यस जात्रा हेर्नाले सुख,
दुःख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता
रहिआएको छ ।
मूल 'विस्याट
जात्रा' लिङ्गो ठड्याउने र
ढाल्नेका रूपमा मात्र प्रचलित भए पनि पछि मल्ल्कालिन राजाहरूले भैरवनाथ र
भद्रकालीको रथ यात्रा समेत समावेश गराइ यसलाइ ८ रात ९ दिन मनाउन थालिएको बताइन्छ ।
जात्रा अवलोकन गर्न विहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक
देखि मान्छेहरू भक्तपुर पुग्ने गरेका छन् । जात्राको नवौं दिन भेलुखेलमा धार्मिक
विधानअनुसार मूल पुजारीले लिङ्गमा पूजा गरी विस्केट जात्राको समापन गरिन्छ ।
विकृति
यस ऐतिहासिक कथा बोकेको विस्केट जात्रा आजकल विकृतिका
रूपमा देखा परेको हुँदा दुःख लाग्दछ । जाँड, रक्सीमा मात्तिने, पुरानो निहुँ
कोट्याएर टोल-टोलका युवकबीच झगडा
गर्ने र आतंक मच्चाउने जस्ता प्रवृत्तिहरू देखिन थालेको छ । यस्ता विकृति रोक्न
स्थानीय निकायले विगतका वर्षदेखि जात्रास्थलमा सिसी टीभीले निरीक्षण गरी दोषीलाइ
कारवाही गर्ने, हजारौँ संख्यामा सुरक्षाकर्मी तैनाथ गर्ने काम गर्न थालेको छ । यस्ता
विकृतिले केही मानिस घाइते हुनेदेखि मृत्युसम्मका खबर पनि सुनिन थालेको छ । यी विकृतिले
जात्राको महत्त्वमात्र घटाएको छैन, स्थानीय मानिस, अवलोकनकर्ता र पर्यटकको यस जात्राप्रति
चासो पनि घट्दै गएको छ । यस्ता विकृति नियन्त्रण गर्दै स्वच्छ र सन्तुलनीय
पर्यावरणमा विस्केट जात्रा मनाइनुपर्दछ ।
Comments
Post a Comment