छोरोको सरूवा सहितको प्रोमोशन

२०७१ साल लागेको मात्रै थियो । मेरो ८ वर्षे छोरो उठ्ने बित्तिकै मेरो कोठामा दगुर्दै आयो र मुखेन्जी आएर भन्यो, "बाबा ! ह्याप्पी न्यु इयर"। मैले पनि उसलाइ साथमा लिएर अँगालो हाल्दै भनेँ, "ह्याप्पी न्यु यर टु यु टु पुन्टे।" उसलाइ म माया गरेर पुन्टे भन्थेँ । अनि फेरि हँसिलो अनुहार पारेर भन्यो, "बाबा ! यसपाली हजुरको जस्तै प्रोमोसन भयो नि मेरो ।" एकैछिन त म वाल्ल नै परेँ । पछि उसैले सम्झायो मलाइः "म २ कक्षामा जाँदैछु नि त यो वर्षदेखि ।" उसको हाँसोमा मैले नि हाँसो मिलाइदिँदै भनेँ, "अ हो त है । प्रोमोसन त भयो तर मेरो जस्तो तलबको हैन । फिसको प्रोमोसन ।" छोरो १ कक्षा पास भएर २ कक्षा उक्लिँदै थियो यो वर्षदेखि । उसमा खुसीको कुनै सीमा थिएन र स्वाभाविक नै हो कुनै पनि विद्यार्थी कक्षा उक्लिँदा उसलाइ औधी खुसी लाग्छ नै । त्यसमाथि छोरो पढ्ने स्वाभावकै थियो । उ १ कक्षाबाट दोस्रो हुँदै २ कक्षा उक्लिँदै थियो ।
भोलि वैशाख २ गतेबाट छोरोको स्कुल लाग्ने थियो । बिहानै उठेर नुहाइधुवाइ गरेर छोरो तयारी गर्दै थियो । नयाँ कक्षाको पहिलो दिनमै नुहाइधुवाइ गरेर स्कूल गए ह्यान्डसम भइन्छ रे वर्षैभरि भन्दै हँसाउदै थियो । खाना खाएर चिटिक्क युनिफर्म लगाएर स्कूल जान तम्तयार पनि भयो । पहिलो दिन किताब थिएन । त्यसैले उसको झोला रित्तै नै थियो । एउटा नयाँ बंगलामुखीको कापी हाल्देर उसलाइ स्कुल पठाँए । जाने बेला हात हल्लाउँदै भन्यो, "बाबा, मेरो प्रोमोशन त भयो । तर सरुवा चाँहि भएन ।" छोरो सानै भएनी उसलाइ सबैथोक थाह रहेछ । सरकारी जागिर मेरो नायब सुब्बा बाट अधिकृतमा प्रोमोशन भएको थियो । हेटौंडाबाट काठमान्डुको हेभी डिभीजन कार्यालयमा सरुवा भएको थियो । छोरो बोल्न अलि चम्बु पनि थियो । अन्तमा टाटा बाबा मम्मी भन्दै भनेको थियो, "बाबा, आजबाट मेरो एपोइन्टमेन्ट छ । म गएँ ल ।" त्यही डायलग जुन मैले यहाँ आएर दैलो बाहिर भनेको थिएँ । पुन्टेको कलिलो गालामा मिठो चुम्बन गर्दै झैझगडा नगर्न, टिचरले भनेको कुरा मान्न र ज्ञानी हुन सुझाउँदै उसलाइ स्कूल पठाएँ ।
      छोरोलाइ केही परको प्राइभेट स्कूलमा भर्ना गरिदिएको थिएँ । नजिकै सरकारी स्कूल पनि थियो तर गुणस्तर देखेर सरकारी स्कूलमा भर्ना गर्ने आँट चाँहि आएन । तसर्थ आँखा एकपटक नि पछाडि नि नफर्काइ मैले प्राइभेट स्कूलमा भर्ना गरिदिएको थिएँ । घरबाट केही १० मिनेट जति हिँडेसी स्कूल पुगिन्थ्यो । हामी बस्ने कोठाको केही पर उसकै साथि पनि बस्थ्यो । उनीहरू दुइ जना सँगै खेल्दै खेल्दै स्कूल पुग्थे र घर पनि सँगसँगै नै फर्किन्थे ।
      चार बजेको समय स्कूल छुट्टीको थियो । पुन्टे घर फर्केसी मैले मुस्कुराउँदै भनेँ, "प्रोमोशनल जागिर कस्तो रह्यो त?" उसले भन्यो, "एकदम रमाइलो रह्यो बाबा । नयाँ नयाँ स्टाफहरू चिन्न पाएँ ।" उसले भनेको स्टाफ चाँहि नयाँ साथीहरू भन्न खोजेको रहेछ । त्यसपछि उसले एउटा स्लीप दियो मलाइ, जुनमा उसलाइ चाहिने किताबहरूको सूची दिइएको थियो ।  किताबको त्यस सूची देखेरै छक्क परें म । लगभग आधा मिटर जति लामो त्यस कागजमा जम्मा २१ वटा किताबको सूची थियो । किताबको सूचीमा किताबको नामसँगै प्रकाशक र वितरकको नाम पनि दिइएको थियो । उसलाइ सोधें, "पुन्टे, यो पालि कक्षा २ को मात्र किताब किन्ने हो । किन दश कक्षासम्मकै किताबको सूची लेराको ?" उसले अचम्म मान्दै भन्यो, "बाबा, त्यो हाम्रै २ कक्षाको मात्रै किताब हो नि ।" फेरि सोधें, "कतै झुक्केर १० कक्षाकै लिस्ट त लेराइनस् ?" उ अक्क न बक्क पर्यो र सम्झिदैँ भन्यो, "हैन बाबा, यो लिस्ट त हाम्रै प्रिन्सिपल सरले क्लासमा लेराएर सबैलाइ दिनुभएको हो ।" किताब जस्तो कुरा नकिन्ने कुरा नि आएन । त्यसैले किताब किन्न कै लागि बजारतिर लागें । एक्काइस ओटै किताब रहेछन् स्टेशनरीमा । मूल्य फेरि छुनै नसकिने रहेछ । किताबका पृष्ठहरू यसै त रंगीन थिए र विभिन्न निजी प्रकाशक र वितरक बीच अस्वस्थ प्रतिस्पर्धाले मूल्य आकाशिएको थियो । किताब जस्तो कुरो किन्दिन भन्न नि पाइएन र लुगाफाटामा जस्तो किचकिच गर्ने कुरा नि आएन । चलेकै १० हात छुटमा किताब ल्याएँ । २१ वटा किताबको ठ्याक्कै रू: ८५००|- मूल्य पर्यो । एकछिन त निजी स्कूलमा पढाएर गल्ती पो गरें कि जस्तो पनि लागेको थियो । तर अङ्ग्रेजी भाषाको लोभले त्यो पैसोको माया चाँहि लागेन । जति पैसो लागे नि अङ्ग्रेजी भाषा बच्चाले सिकेसी पछुताउन पर्दैन जस्तो लागेको थियो । अङ्ग्रेजी भाषामा अब्बल नभएरै मैले धेरै हन्डर खाएको थिएँ । एकचोटी विदेश जाने अफर समेत गुमाउनुपरेको थियो ।
      बच्चा न हो, नयाँ किताब पाएसी रमाउँछ । घरमा पुगेर उसलाइ किताब देखाएसी उ औधी रमायो । २१ वटै किताबको कभर हेर्न थाल्यो । भित्र पल्टाउँथ्यो र हरेक चित्र नियाल्दै हेर्थ्यो । अनि भन्थ्यो, "बाबा, हेर्नु त २० वटा हात्ती । एउटा चाँहि निस्के नि हुन्थ्यो नि यहाँबाट । मलाइ हात्ती चढ्न मन छ।"  पुन्टेलाइ पोहोर चिडियाखानामा लगेर हात्ती चढाएको थिएँ । मैले भनें, "यो पालि पहिलो भएर देखाउ, अनि लगुम्ला चिडियाखाना ।" उ मेरो कुरा सुन्न भन्दा नि नयाँ किताब पल्टाउन र आकर्षक चित्रहरू हेर्नै व्यस्त थियो । उसलाइ भनें, "पुन्टे, अब किताबमा गाता राख्न पर्छ, अनि किताब नच्याती जतनसाथ पढ्न पर्छ ल ।" उसले हस् भनेर मुन्टो हल्लायो र त्यसपछि सबै किताब एकै लहरमा राखेर खाना खान हिँड्यो । उ थाकेको थियो क्यार, सँधै गुडनाइट भनेर सुत्ने बच्चा आज भने खाना खाने बित्तिकै उसको ओछ्यानमा पल्टिन गएको थियो ।
      भोलि पल्ट बिहान स्कुल जाने तयारी गर्दै गर्दा एउटा अचम्मको दृश्य देखें । पुन्टे २१ वटै किताब झोलामा अटाइ नअटाइ राख्न खोज्दै थियो । मैले सोधें, "ए पुन्टे, किन यी सबै किताब राख्न खोजेको? चाहिने चाहिने किताब मात्र राख न ।" उसले मुख बिगार्दै भन्यो, "कहाँ बाबा, टिचरले स्कुलमा सबै किताब लेर आउन भन्नुभएको छ ।" म त एकछिन जिल्लै परें । पुन्टेको अनुहार कालो थियो । उसको अनुहारले नै उसलाइ ब्याग कति भारी भइराछ भन्ने दर्शाउँदै थियो । सबै किताब नलग भनूम जस्तो पनि लागेको त थियो, फेरि शिक्षकले नै भनेको भनेसी राम्रै पाठ सिकाउन नै यस्तो गरेको हो कि जस्तो पनि लाग्यो । हिजो मैले सबै किताब बोकेर ल्याँउदा मलाइ नै भारी भएको थियो । सबै किताबको वजन ८ किलो जति त हुन्थ्यो नै । सोचें भोलिपर्सि पढ्न नसकेर भारी बोक्न पर्ने दूरदर्शी सोच पनि आत्मसात गरेको हो कि विद्यालयले । एकछिनमा खाना खाएर उ सदा झैँ स्कूल तिर लाग्यो उसको साथीसँग ।


      बेलुका छोरो त्यही भारी झोला बोकेर फर्क्यो । अनि भन्यो, "बाबा, मलाइ त काँध दुख्न थाल्यो ।" मलाइ आपत पर्यो कतै त्यही झोलाकै कारणले त हैन ? एकछिन उसको काँध मालिस गरिदिएँ । मालिस गरिदिँदै गर्दा भन्यो, "बाबा, आज कत्ति साथीले सबै किताब नलेराको भएर सरको हातबाट पिटाइ खाए नि । मैले चाँहि स्याबासी पाएँ ।" उसलाइ भने थाह थिएन कि त्यो पिटाइको पीडा भन्दा पनि ठूलो थ्यो उसको झोलाको भारको पीडा । सायद उसलाइ पनि अनुभव भने भएको थियो तर मलाइ पोख्न सकेको चाँहि थिएन । खाली हाँसो दिइरहेको थियो । भोलि उसको सरसँग यसबारे कुरा गर्ने मैले योजना बनाएँ । स्कुलबाट दिएको होमवर्क सकिवरी उ सुत्यो ।
      रातको १ जति बजेको थियो । म मस्त सुतिरहेको बेला उनको कोठाबाट उसको आवाज सुनें । बाबा, बाबा भन्दै सानो स्वरले बोलिरहेको थियो । म हत्त न पत्त ओडिरहेको शिरक फालेर उसको कोठामा पुगें र देखें छोरो त पसिनै पसिना भएको थियो ।  उसको निधार र हात छामें । पुन्टेलाइ  ज्वरो आएको रहेछ । सायद आज उसले बोकेको झोलाकै उपज थियो यो ज्वरो । पानीपट्टी लगाइदिएँ र पनि ज्वरो कम भएन । छोरोको अनुहार रातो न रातो थियो । अब त केही कम होला कि जस्तो लागेको थियो तर झन् कराउन थाल्यो, "बाबा, मलाइ त झन् टाउको दुख्न थाल्यो ।" मलाइ अब निकै चिन्ता लाग्न थाल्यो । उसको बोलि कमजोर हुँदै गएको थियो भने हातहरू चलबलाउन छोडेको थियो । एकछिन त उसको प्रिन्सिपललाइ फोन गरेर गाली गरुम जस्तो पनि लागेको थियो । तर त्यो भन्दा नि मलाइ छोरोको चिन्ता थियो । सामान्य ज्वरो भए पनि मैले उसलाइ अस्पताल नलगी राख्न सकिन । नजिकै अस्पताल भएकोले तुरुन्तै पुन्टेलाइ काखीमा लिएर अस्पताल पुर्याएँ । अस्पतालमा चिकित्सकले सामान्य ज्वरो र जीउमा अत्याधिक भारीले सबै अङ्ग लोलाएको जानकारी दिनुभयो । भोलिपल्ट सम्म निको हुने चिकित्सकले बताएसी मात्र मुटुको धड्कन सामान्य रूपले चल्न थालेको थियो । छोरोलाइ आइसले खुट्टा चिस्याउँदै र पानीपट्टी दिँदै थिएँ । निदाइरहेको छोरोसामु म अनेकथरी कुराहरू दिमागमा खेलाउँदै थिएँ ।
       एकथरी मनले आँफैलाइ दोष देखायो भने अर्को थरी मनले विद्यालयलाइ दोषी देखायो । हुन पनि हो भर्खर २ कक्षाको बच्चालाइ २१ वटा किताब चाँहि किन चाहियो ? फेरि न्युटनको चालसम्बन्धी दोस्रो नियम पनि लागु हुन्न नि यसमा । त्यस नियम अनुसार झोला जति भारी भयो त्यति नै ज्ञान बढी आर्जन हुन्छ भन्ने पुष्टि हुन्छ । स्टेसनरीमा किताब किन्दा मैले याद गरेको थिएँ कि धेरै किताबहरू उसकै विद्यालयका शिक्षकद्वारा लिखित थियो । उनीहरूले आफ्नो किताब बिकाउनैका लागि कतै त्यति धेरै किताब किनाउन लाएका पो हुन् कि ? एक दिनमा पुन्टेको विद्यालयमा ८ वटा पिरेड पढाइ हुन्थ्यो । ८ वटा किताब बोके एक दिनको लागि पर्याप्त हुनेमा २१ वटै किताब बोक्न चाँहि किन पर्यो ? कस्तो नियम हो त्यो विद्यालयको ? यदि पछि नाम्लो बोकउनकै लागि अभ्यास गराएको हो भने नि बच्चा बिरामी नै हुनुपर्ने गरि अभ्यास गराउने प्रचलन चाँहि कहीं पनि छैन । बरू म आफै उसलाइ फुर्सदमा गाँउमा लगेर नाम्लो बोकाउने अभ्यास चाँहि गराउँछु । प्राइभेट स्कूलमा पढाएकोमा पछुतो पनि लाग्दै थियो । जहाँ पढे नि पढाए नि पढ्ने त आखिर बच्चाले त हो नि जस्तो पनि लाग्दै थियो । मेरो बिरामी बच्चाको जिम्मेवारी त्यो विद्यालयले लिने कि नलिने ?       
      यस्तै नानाथरी कुरा सोच्दै रहँदा पुन्टेले आँखा खोल्यो र मुस्कुराउँदै भन्यो, "बाबा, मेरो प्रोमोशन पनि भयो र सरूवा पनि भयो नि स्कूलबाट हस्पिटलमा ।" मैले केही भन्न सकिन, गहभरि आँशु मात्र पार्न सकें । 

Comments

Post a Comment

Popular Posts