मोदीमय सार्क

सार्क लोगो
सार्क लोगो
“Deeper integration for peace and prosperity”
सार्कमा ८ सदस्य राष्ट्र छन् भन्ने दिव्यज्ञान सबैलाइ थाहा भएकै कुरा हो । सबै ८ सदस्य राष्ट्रका महामहिम राष्ट्रप्रमुख तथा पाहुनाहरूको उपस्थितिमा यही मङ्सिर १० र ११ गते काठमाण्डौमा अठारौँ सार्क सम्मेलन आयोजना हुँदैछ । यस अघि तेस्रो तथा एघारौं सम्मेनल सफलतापूर्वक आयोजना गरिसकेको नेपाल तेस्रोपटक सार्क सम्मेलन आयोजना गर्दैछ । तथापी ती दुइ सम्मेलनको तुलनामा यस सम्मेलन पूर्ण फरक ढङ्ग र वातावरणमा आयोजना हुन गइरहेको छ । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल घोषणा भइसकेपछि आयोजना हुन गइरहेको यस सम्मेलनको ती दुइ सम्मेलन भन्दा वृतान्त फरक पृष्ठभूमि रहेको छ । चुनौती र अवसर दुवैको रूपमा रहेको यस सम्मेलन हामी नेपालीहरूले सफल पार्नु हाम्रो दायित्त्व नै हो ।
पाहुनाहरूको विशेष सत्कार गर्ने हामी नेपालीहरू झन् विदेशी पाहुनाको सत्कार नगरी बस्ने कुरै भएन । यही स्वागत सत्कारको लागि राजधानी काठमाडौं अहिले तयारी अवस्थामा रहेको छ । विगत एक डेढ महिना अघि सुरू भएको राजधानी रङरोगन तथा पुन निर्माण हाल तयारी अवस्थामा आइसकेको छ । बेहुली झैं सिँगारिएको राजधानीको हालको अवस्था हेर्दा केही महिना अघिको उही प्रदूषित, उही फोहोर राजधानी काठमाडौं भनी पत्याउन समेत मुस्किल पर्छ । हुन त रातारात हतारमा लगाइएको इनामेल चाँडै नै उडेर उही कुरूप काठमाडौंमा परिणत नहुनेमा दुइमत छैन । जे होस् पाहुनाको सत्कार कै लागि सही, काठमाडौं अहिले सार्है सुन्दर देखिएको छ: उही आदिकवि भानुभक्तद्वारा कल्पित सुन्दर अल्कापुरी अमरावती कान्तिपुरी नगरी ।
बबरमहलको बाटो
बबरमहलको बाटो
तर गन्ध पत्ता लगाउन माहिर कुकुरले समेत सजिलै पत्ता लगाइदिन सक्छ कि ‘यस श्रृंगारमे कुछ काला हे’ । केही महिना अघि मात्रै नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन पूर्व राजधानीका सडक सबै पखालिएका थिए । उनी हिँड्ने सबै मार्ग खाली गराइएको थियो । अहिलो ८ राष्ट्रका ८ विशिष्ट पाहुनाको सहभागिता रहने सार्क सम्मेलन भएता पनि मोदीको विशेष चर्चा भइरहेको छ । राज्य कै एक पक्षले त काठमाडौंको रंगरोगन सबै ‘मोदी समर्पित’ हो भनेर भन्यो । स्थलमार्ग बाट जनकपुर हुँदै लुम्बिनी र मुक्तिनाथको समेत दर्शन गर्ने मोदीको भ्रमण तय भएको थियो । त्यस भ्रमण लक्षित पार्दै जनकपुर, लुम्बिनीको विशेष सिंगार गरिएको पनि थियो । तर केही दिन अघि मात्रै भारतीय दूतावासले मोदीको व्यस्त कार्यतालिका देखाउँदै उनले काठमाडौं बाहिरको सम्पूर्ण भ्रमण रद्द गरेको समाचार दियो । स्थलमार्ग हुँदै जनकपुर आउने भ्रमणमा ‘यु टर्न’ दिँदै उनी हवाइमार्गबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने भए ।
18th-SAARC-SUMMIT-KATHMANDU
राष्ट्रिय सभागृह सम्मेलनस्थल
अठारौं सार्क शिखर सम्मेलन मोदीमय हुनु कुनै नौलो कुरो भने होइन । दक्षिणपन्थीको परोक्ष वा अपरोक्ष हस्तक्षेप बाट सन्चालित नेपाल सरकार मोदी सरकार कै एक हिस्सा भएको विश्लेषण समेत पाइने गरेको छ । चाहे संविधानको मस्यौदा तयार गर्दा होस् या सरकार परिवर्तन हुँदा या राजनीतिक दल बीच कुनै सहमति जुटाउँदा, छिमेकी गुहार्ने चलन त पुरानै हो । बहुचर्चित मोदीको जनकपुर भ्रमण भने जनकपुर सिंगारिदै गर्दा नै रद्द हुन पुगेको छ । उनको भ्रमण पूर्व नै सम्पूर्ण नेपालीको घटघटमा, कणकणमा र जिब्रा-जिब्रामा मोदी छाएको छ । तर जनकपुर भ्रमण पूर्व कथित राष्ट्रवादी र सरकार बीच जुहारी नै चल्यो । एकथरी राष्ट्रवादीले मोदीले जनकपुरमा भाषण गर्न नहुने विचार व्यक्त गर्यो । तथापी ती तिनै राष्ट्रवादी हुन् जसले मोदीले संविधानसभामा भाषण गर्दा पररररर ताली मारेका थिए । ती तिनै राष्ट्रवादी थिए जो मोदीलाइ भेट्न हयात होटलमा पालो कुरेर बसेका थिए । ती तिनै राष्ट्रवादी थिए जो भारतीय विदेशमन्त्री सलमान खुर्सिद काठमाडौं आउँदा उनको पाउ छुन तत्पर थिए । मोदीको जनकपुर भ्रमण रद्द भएसी जनकपुरमा केही समूहले आन्दोलन नै गरे । उत्साहित जनकपुरवासी निरूत्साहित हुन पुगे । मोदीको लुम्बिनी भ्रमण लक्षित गरी लुम्बिनी विकास कोषले त मण्डप तयारी अवस्थामा राखिसकेको थियो । सिसिटिभी जडान गरिरहेका कामदारहरूले मोदी भ्रमण रद्द भएको खबर पाउने बित्तिकै मण्डप नै भताभुङ्ग पारेको खबर समेत आयो । यद्दपी लुम्बिनी मोदीमात्र नभइ श्रीलंकन राष्ट्रपति महिन्दा राजपाक्षे पनि जाँदैछन् ।
Modi_Nepal--621x414
भारतीय प्रम नेपाली प्रम सँग
तयारी अवस्था सार्कमय नभइ मोदीमय भएको छ । मानौ सार्कै नै मोदी र मोदी नै सार्क हो । नेपालले मोदी बाहेकका अरू अतिथिलाइ बिर्सेको भान भइरहेको छ । नरेन्द्र मोदी भारतका मात्र नभइ पुरै विश्वका प्रभावशाली नेता रहेकोमा कुनै शङ्का छैन । उनले लगनशील, इमान्दार, जनतामुखी नेताका रूपमा विश्वमाझ आफ्नो पहिचान छोडिसकेका छन् । विशेषतः भारतीय बढ्दो आर्थिक बजारमा विश्वको ध्यान केन्द्रित भएको छ । सार्कमा भारतीय प्रतिनिधी नरेन्द्र मोदीको उपस्थिति विश्वको ध्यान खिचिरहेको छ। यस अर्थमा नेपाल पनि मोदीमय हुनु कुनै नौलो कुरो भने होइन । तर जसरी मोदीको भ्रमणलाइ एक हाउगुजीको रूपमा वर्णन गर्न थालियो, त्यो भने विलकुल गलत रह्यो । सत्ता, सडक, सरकार र मिडियामा सर्वत्र मोदी कै भजन गाउनु चाँहि सार्क सम्मेलनमा सहभागी अरू अति विशिष्ट पाहुनाहरूको धज्जी उडाउन सरह हुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सार्क राष्ट्रका सम्पूर्ण प्रतिनिधीलाइ निम्तो दिइएको थियो जहाँ नेपाल बाट माननीय प्रम सुशील कोइरालाले प्रतिनिधित्व गरेका थिए । त्यस बखत भएको सार्क राष्ट्रप्रमुखको जमघटलाइ मिनी सार्क सम्मेलन सम्म नामाकरण गरिएको थियो । यस घटनाले पनि सार्कमा भारत र विशेषगरी मोदीको प्रभाव महसुस गर्न सकिन्छ । यद्दपि सार्कमा अरू राष्ट्रको भूमिकालाइ भने विर्सन हुन्न ।

Comments

Popular Posts