मैले देखेको गढीमाइ: एक रिपोर्ट

एसिया कै सबैभन्दा ठूलो बली चढाइने मेलाका रूपमा चर्चित गढीमाइ मेला नेपाल वा एसियामा मात्र नभइ विश्वमै प्रसिद्ध रहेको छ । पञ्चवर्षीय गढीमाइ मेलालाइ यो पटक नजर गर्नको लागि म पनि बाराको बरलैया पुगेको थिएँ । गढीमाइ मेला सम्बन्धी धेर थोर त मैले पनि सुनेको थिएँ तर त्यहाँ प्रत्यक्ष देखें र जानकारी पाएँ, लाग्यो 'कहीं नभाको जात्रा हाडीगाँउमा लाग्छ र कहीं नभाको मेला बरलैयामा लाग्छ' । 

मेला नेपाली भूमिमा लागे पनि मेला भर्न आउनेमा अधिकांश भारतीयहरू थिए । भारतबाट मेला भर्न कै लागि उता बाट ट्रक, गाडी, ट्रयाक्टर, मोटरसाइकल जस्ता साधनमा भरिभराउ मान्छेहरू आएका थिए । गढीमाइ पुग्ने मुख्य बाटो भने पथलैया हुँदै थियो तर स्थानीयले त्यस बाटोमा अत्याधिक जाम भएको जानकारी हामीलाइ दिएपछि हामी सिधै बाराको निजगढ बाट महेन्द्र राजमार्ग छोडेर कच्ची बाटो हुँदै गढीमाइको लागि अगाडी बढ्यौं । कच्ची बाटोमा एक त बाइक चलाउनै गाह्रो र अर्को राजमार्ग छाडेसी डाइभर्सन धेरै ठाउँमा भएकोले बाटो चिन्नै मुस्किल थियो । अझ वरिपरि कुनै बस्ती थिएन, थियो त मात्रै घना जङ्गल जहाँ जङ्गली हात्तीको चरम भय थियो । तराइको बाटो सबै एकनास हुनाले हामीमा डर थियो कतै फर्किंदा हामी रूमल्लिने पो हो कि ! तर गढीमाइ नपुगी फर्किने विकल्प थिएन र हामी फर्किने बेलाको बाटोको पर्वाह नगरी अगाडी बढ्यौं । राजमार्ग बाट लगभग ४० किमी जति लागेसी मात्र मेला लागेको केही दृश्य देखियो । अब चाँहि आइपुगेको भान भएर सास लिएका थियौं तर त्यहाँ बाट त ट्राफिक जाम मात्र सुरू भएको रहेछ । त्यो वैकल्पिक मार्गमा समेत यति ट्राफिक जाम थियो कि गाडीले बाटो छेक्दा पैदल हिँड्ने तिर्थालुहरूको लागि समेत बाटो थिएन । जामले न त हाम्रो बाइक अगाडी सर्यो न पछाडी नै लान मिल्यो । अझ भारतीय गाडीले नेपाली गाडी तथा बाइकलाइ अत्याधिक पेल्ने रहेछन् । करिब आधा घण्टाको पर्खाइ पछि बल्ल २० मिटर जति अघि सर्यो । त्यहाँ बाट अझै पैदल जाँदा १ घण्टा लाग्ने त्यहाँका स्थानीयले हामीलाइ बताए । अगाडी बाइक जान नसक्ने निचोड निकाल्दै बाइक कतै पार्किङ गरेर पैदल जाने निर्णय भयो । त्यसअनुरूप अगाडी बढ्दै जाँदा वरिपरि घिनलाग्दो दृश्य देखियो ।
     
मानिसहरू गढीमाइ लगेर बोका परेवा हाँस आदिको बली चढाउने रैछन् र त्यसलाइ कतै बाटोमा ल्याएर आफ्नो परिवार बीच बसेर खाने रहेछन् ।



खानपिन स्थल अत्यन्त फोहोरी र अव्यवस्थित थियो । नजिकै गनाउने ढल थियो र सँगै उनीहरू मासु पकाउँदै खादै गर्दै थिए ।


कोही भने बाँसघारीमा बसेर खानपिन गर्दै थिए जबकी त्यही बाँसघारी मेलामा आएका तिर्थालुको चर्पी पनि बनेको थियो ।  


गढीमाइको मन्दिर पुग्न तराइको उर्वर फाँटलाइ नै बाटो बनाइएको रहेछ । मेला लाग्नु एक महिना अगाडी नै फाँटको सबै धान नपाक्दै काटिएको रहेछ । त्यस उर्वर जमिनमा भक्तजनहरूको यति भीड थियो कि जमिन नै भास्सिन थालेको थियो । डरले त्यस भास्सिन लागेको जमिन माथि हतपत टेक्दै अगाडी बढ्यौ ।
अगाडी एउटा पर्खाल थियो जसमा सबै मानिसहरू चढ्दै भित्र हेर्दै गर्दै थिए ।



भित्र के रहेछ त भनी हामी पनि उत्सुकता पूर्वक पर्खाल चढ्यौ । त्यो दृश्य यति भयावह थियो कि त्यसलाइ वर्णन गर्न कुनै शब्द नै छैन । हेर्नुस् त्यहाँ भित्र देखिएको दृश्य:




यी दृश्य हेर्दै कति भयावह थियो । यो दृश्य देखेसी धेरै कुराहरू मनमा खेल्न थाले: के कुनै निर्दोष जनावरको ज्यान लिँदैमा पुण्य कमाइन्छ ? के ती जनावरहरूको कुनै बाँच्न पाउने अधिकार छैन ? मरण पश्चातको संसार कसले देखेको छ, अर्को जन्ममा आज ती निर्दोष प्राणीको ज्यान लिने मानिस त्यस्तै प्राणीको रूप लिएर जन्मिन पर्छ कि भन्ने सामान्य सोच सम्म गर्न सक्दैन । नारी जातिको त मन कमलो हुन्छ भन्ने सुनेको थिएँ, तर गढीमाइ देवी पनि त नारी नै हुन् नि; ती नारी चाँहि किन यति कठोर कि कुनै प्राणीको बली चढाएसी मात्र आफु खुसी हुन्छिन् ?
हुन त हिन्दू धर्मको कुनै पनि ग्रन्थ, कुनै पनि वेदमा पशु वा अन्य कुनै पनि प्राणीको बली चढाउनुपर्ने नियम उल्लेख भएको पाँइदैन । स्थानीयहरूले यस मेलामा बली दिने परम्परा धेरै पहिले देखि चलिआएको बताए । 

गढीमाइ देवीको पवित्र मन्दिर बाराको बरलैयामा अवस्थित छ । गढीमाइको शक्तिलाइ यहाँका स्थानीयहरू यसरी वर्णन गर्छन्, गढीमाइको शक्ति यति छ कि कुनै दीप नबाल्दै दियो बल्छ । आगो नै नबाली दियो प्रज्वलन गर्न सक्ने गढीमाइ देवीको कोटी कोटी प्रणाम ।
 गढीमाइको मन्दिर परिसरमा एउटा पीपलको रूख रहेछ । त्यस पीपलको जरामा आगो बलिरहेको छ र त्यस जरामा आगो पञ्चबलीको अघिल्लो दिन मात्र बल्दछ । आगो नबलुन्जेल तीर्थालुहरू आफ्नो पशुको बली चढाउन तयार हुँदैनन् । तीर्थालुहरू आफ्नो पशुको बली चढाउन पूर्व जनावरको पूजा गर्ने रहेछन् र गढीमाइमा बली चढाउने भाकल भएको बताउँदै माफी माग्ने रहेछन् । अघिल्लो रात पशुसँगै बसेर भोलि पल्ट विहान बली चढाउने रहेछन् ।


विश्वास

स्थानीय बासिन्दाहरूमा गढीमाइ देवीको वृहत शक्ति भएको विश्वास रहेछ । "त्यति धेरै राँगोहरू फालिएको ठाउँमा झिंगा एउटै छैन। के यो अचम्म हैन? के यो गढीमाइ देवीको शक्तिले हैन ?", एक स्थानीयवासी भन्दै थिए । "त्यति धेरै बाली(धान) नाश भएको देखिन्छ फाँटमा तर ती समय भन्दा अगि नै काटिएका धान बाट अझ धेरै उब्जनी हुन्छ । यो सबै गढीमाइ कै शक्तिले सम्भव भएको हो।" यसो त २०५१ सालमा त्यस मेलामा महामारी नै फैलिएको पनि थियो । 


विरोधका आवाज
अहिले यस मेलामा दिइने बली रोकिनुपर्ने आवाज उठे पनि त्यसतर्फ स्थानीय निकाय र नेपाल सरकारको तर्फ बाट कुनै ठोस कदम चाल्न सकिएको देखिँदैन । यस बली दिन रोक लगाउन पर्ने अडान राख्दै एक भारतीय समाजसुधारक अग्निवेश बारामा अनशन नै बसेका थिए । तर २४ घण्टा नबित्दै उनलाइ बारा बाट निष्कासित हुन कर नै लाग्यो । राजधानी मै यस मेला प्रति विरोधका नाराहरू घन्किएका छन्। एक दुइ संस्थाले यस परम्पराको चर्को विरोध गरेता पनि यस कठोर बली रोकिन सकेको छैन ।  तथापि भारत बाट बलीका लागि जनावरहरू ल्याउन रोक लगाएसी यस मेलामा पहिलाको मेलामा भन्दा धेरै कम मात्रामा बलीको संख्या कम भएको गढीमाइ व्यवस्थापक समिति बताउँदछ । यस अघिको मेलामा करिब ८ हजारको संख्यामा बली चढाइएको र यस मेलामा ५ हजारको हाराहारीमा मात्रै बली चढाइने समिति द्वारा जानकारी गराइयो ।


पशु चेहरा, अधिकार र निचोड
आफ्नो गर्धन छप्काउन हतियार लिएर बसेका हतियाधारीहरू देखेर ती असहाय जनावरहरूको चेहरामा एक प्रकारको डर प्रकट भएको प्रष्ट देखिन्थ्यो । ती पनि हामी मानिस जस्तै सजीव प्राणी न हुन् । कसैले आफ्नो प्राण लिँदै छ भन्ने थाह भएसी चाहे मानव या जनावर सबैमा एक डर त अवश्य हुुन्छ । यहाँ मानवलाइ मृत्युदण्ड दिन त अदालतमा मुद्दा दायर गरेर विभिन्न कदम चालेर मात्रै मृत्युदण्ड स्वीकार्य हुन्छ भने ती निर्दोष जनावरलाइ कसरी विना कारण विना कदम आफ्नो प्राणको आहुती दिन लगाउन पाइयो ? त्यसो त बेला बेला पशु अधिकारको बारेमा आवाज नउठ्ने हैनन् । तर ती आवाज कति सान्दर्भिक कति असान्दर्भिक आफैमा विवादित रहेका छन् ।
 यस किसिमको परम्परालाइ अन्तय गर्नु नै उचित हुने देख्छु म। यदि संसारमा पाप पुण्य छ र मरेसी स्वर्ग वा नर्क छ भने चाँहि यस किसिमको परम्परा तोड्दा पुण्य कमाइन्छ र स्वर्ग जान ढोका खुल्छ ।
'किन जानुपर्यो बनारस स्वर्ग जान, यस्तै परम्परा तोड्दा स्वर्ग अवश्यै पुगिन्छ'

(नोटः म कुनै  शाकाहारी जीव हैन या त गढीमाइ मेलाको कुनै विरोधी नै । माथि उल्लेखित सबै मेरा निजी विचार मात्र हुन् । )

Comments

Popular Posts