केटी हेर्न जाँदा
झिसमिसे विहान थियो । आमा विहानै मेरो मिठो सपना नै विचलित हुने गरी उठाउन आउनु
भयो र भन्नुभयो , “छोरा उठ्, उठेर नुहाइहाल् र आज तेरो लागि केटी हेर्न जानु पर्छ ।” छोरा उठ, उठेर नुहा
सम्म त सँधै सुनिदैँ आएको कुरो तर ‘आज तेरो लागि केटी हेर्न जानु पर्छ’ सुनेसी म झसङ्गै भएँ
। सोधेँ , “हँ, केटी हेर्न जाने रे ? बुबाको लागि हो ?” आमा त खित्का
छोडेर हाँस्नुभयो र हल्का रिसाँउदै भन्नुभयो , “ए
मोरा, धेरै नजिस्कि तेरो बाउले मलाइ सौता हालेको हेर्न चाहन्छस् के, बाउको छोरोको
लागि हो । जा छिटो नुहाएर आइज ।” आमा त बुहारी
पाउने भएसी मख्खै हुनुहुन्थ्यो तर मलाइ यसको भेउ सम्म थिएन । अरू दिन भए त अफिस
जानुपर्ने थियो सिधै भ्याँउदिन भन्न पाइन्थ्यो पनि । तर आज शनिवारको दिन भएकोले
भ्याँउदिन भन्न पनि पाइएन । तै पनि विहे टार्ने मनसायले भनेँ, “आज त साथीको विहे छ आमा । म त भ्याँउदिन ।” उताबाट जवाफ आयो, “तेरो साथी
मान्छे हैन र, मान्छेको कात्तिक महिनामा पनि विहे हुँदो रैच ? ” म चाँहि नाजवाफ भएँ ।
२५ वर्षको उमेर
मात्रै के टेकेको थिएँ, विहेको कुरो आइसक्यो । ३० वर्ष नपुगी विहे गर्ने मनसाय
थिएन, तर यहाँ मेरो लागि भन्दा पनि आमाको लागि विहे गर्न पर्ने अवस्था आएको थियो ।
एक त जेठो छोरोको नाताले र अर्को आमाको विग्रिँदै गएको स्वास्थ्यले । नेपाली समाज
बुहारीलाइ छोरोको जीवनसाथीको रूपमा भन्दा पनि घरायसी कामधन्दामा सघाउने साधनको
रूपमा हेर्दछ । यही सोच मेरो आमाको दिमागमा पनि संचित भइसकेको थियो । आमालाई बुहारी
भन्दा पनि नोकरानी राखे हुन्न भन्न त मन थियो तर उहाँको स्वास्थ्य संवेदनशीलतालाइ
देखेर त्यति भन्ने सामर्थ्य पनि त थिएन ।
यस्तै अनेक
कुराहरू दिमागमा खेलिरहँदा उता बाट आमाको तिखो स्वर मेरो कानमा परिहाल्यो , "लुगा लगाइस् मोरो ? उता लमी दिदी आइसक्नु भयो ।" लमी दिदी को हुनुहुँदो रच भनेर ढोका हल्का खोलेर
पाहुना कोठामा चियाएर हेरें – उही फूपूको
देउरानी । लमीले कुरा लाउनुभो, "दिदी,
तपाँइको छोरा त भाग्यमानी हुन् । बत्तीसै लक्षण युक्त ती युवती हजुरको हातमा परे
जीवनभर तपाँइको छोरा र
तपाँइलाइ पनि सुख मिल्नेछ ।" आमा
नि दंग पर्नुभयो उहाँको कुरा सुनेर । "ठीकै
छ नि । आज बुहारी र बुहारीको परिवार सित वार्तालाप गरूम् । मलाइ त फोटो मात्र
हेरेर चित्त बुझ्दैन । उनको बानी-व्यवहार पनि
चित्त बुझ्नुपर्छ । अनि जात, धर्म पनि मिल्न पर्छ ।",
मेरो कोठा तिर फर्किँदै भन्नुभयो, "फेरि
मेरो छोरोलाइ पनि त मनपर्नु पर्यो र उनलाइ मेरो छोरो पनि ।" आमाको कुरा सुन्न नपाउँदै लमी दिदीले भन्नुभो, "त्यो त भइहाल्यो नि दिदी। सबै कुरा मिलेसी न
कामकुरो अगाडी बढ्ने हो । तपाँइलाइ कहाँ बुहारी यत्तिकै ह्यान्डओभर (Handover) गर्नलाको हो र ?"
मुसुक्क हाँस्नुभो लमी दिदी ।
म चाँहि यी
आइमाईको गफ जति तन्कायो उति लम्बिन्छ सोच्दै गफ नसुनी नुहाउन गएँ ।
***
उनको नाम लक्ष्मी
थियो । फोटोमा त धेरै राम्री पनि थिइ । रातो कुर्ता सलवारमा सजिएकी थिइन् उनी त्यो
फोटोमा । सायद तीजमा खिचिएको फोटो थियो त्यो । उनको घर बनेपाको अपांग अस्पताल जाने
बाटोमा थियो । हामी समय खेर नफाली एक घन्टामा नै त्यहाँ पुग्यौं । मलाइ हुनेवाला
श्रीमती हेर्ने हतारो, बुबा र
आमालाइ बुहारी हेर्ने हतारो । हामी सितै लमी दिदी पनि सँगै हुनुहुन्थ्यो ।
हामी पुग्न
नपाउँदै घरको मुख्य गेट खुल्यो र कार भित्र पार्क गरेसी एक अपरिचित महिलाले न्यानो
स्वागत गरिन् । लगत्तै लमी दिदीले परिचय गराउनुभयो, "उहाँ चाँहि लक्ष्मी नानीकी आमा । यता चाँहि
केटा विजय, विजयको बुबा अजय, र आमा अन्जली।" उहाँले
यति भन्न नसक्दै हुनेवाला सासुआमाले भन्नुभयो, "ठीक
छ नि लमी दिदी । सबै यहीं भन्ने हो कि माथि कोठामा नि लाग्ने हो ?" हामी सबै मुसुमुसु हाँस्दै माथि कोठामा
लाग्यौं । हिन्दी फिल्म 'विवाह' जस्तै अनुभूति भइरहेको थियो मलाइ चाँहि । कुन बेला पार्वतीलाइ हेर्न
पाइने हो झैं भइरहेको थियो ।
कोठा एकदमै
सुसज्जित थियो, टि टेबलमा फूल, सोफा नि सार्है सफा, लचकदार र अत्तर छर्किएको कोठा
। अगाडी एक्काइस इन्चको टिभीमा रेस्लिङ लागिरहेको थियो । एकछिन पछि पार्वतीकी आमा,
एक अधवैंशे पुरूषको कोठामा प्रवेश भयो । लमी दिदीले तत्काल परिचय गराउनुभयो सबैसित
हाम्रो र उहाँको पनि, "नरनाथ
सापकोटा।" आमाले जिस्किदै
भन्नु भयो,
"हैन तपाँइलाइ चाँहि सबैको नाम समेत भन्न पर्छ
है । केटाको बुबा, केटीको बुबा भनेर भने भैहाल्यो नि ।" छिन मै लमी दिदीले उत्तर दिनुभयो, "परेन त। आखिर भोलिपर्सि निमन्त्रणा पत्रमा
छाप्नै पर्ने हो क्यारे ।"
एकछिन हाम्रो यस्तै हाँसखेल र ठट्टाको कुरा भएसी
लक्ष्मीकी बुबाले भन्नुभयो, "छोरी लक्ष्मी, चिया लिएर आउ ।" म पनि यही पलको पर्खाइमा त थिएँ । कुन बेला
उनी निस्किन्छिन् र हेर्न पाइएला झैं भइरहेको थियो । लगत्तै दुइ हातले किस्ती लिएर
किस्ती माथि चियाकप सम्हालेर लेराउँदै थिइन् पार्वती । सेतो बुट्टेदार कुर्तामा सल
बाँधेर चिया लेराउँदै गरेकी उनको सौन्दर्यको मैले बखान गर्ने शब्द नै भेटिन । उनले
टि टेबलमा चिया राखेर सबैलाइ एक एक गर्दै चिया टक्र्याइन् । मलाइ पनि चिया
टक्र्याइन् र लाजले शिर निहुराँउदै उनको बुबाको साइडमा बस्न गइन् ।
त्यसपछि हाम्रो
पारिवारिक गफ हुन थाल्यो । एकछिनमा कोठामा एक बुढी आमा (शायद लक्ष्मीकी हजुरआमा) को
प्रवेश भयो । लमी दिदीले नभन्दै परिचय गराउनुभयो,
"उहाँ चाँहि हजुरआमा नन्दकला केसी सापकोटा", जिस्किँदै भन्नुभयो, "उहाँको नाम पनि त निमन्त्रणा पत्रमा छापिने हो
।" एकछिन त आमा अक्क न बक्क पर्नुभयो ।
आमाको त्यो अनुहारको अनौठो भावको अर्थ मैले चाँहि भेउ पाइसकेको थिएँ । उहाँ
जातभातको मामिलामा कडा स्वभावको हुनुहुन्थ्यो । उहाँकै जिद्दीले हाम्रो घरमा मासु
पाक्दैन थियो, तरकारीमा लसुन प्याज चल्दैन थियो । एकछिन पछि लक्ष्मीकी बुबाले
भन्नुभयो, "छोरी, जाउ खाजा
लिएर आउ।" खाजा लिएर आएकी
लक्ष्मीले टेबलमा खाजा राख्न नपाउँदै आमाले भन्नुभयो, "अहो । हामी त खानदानी बाहुन पर्यौं । मासु त
पर, लसुन समेत चल्दैन हाम्रो परिवारमा ।" आमाको
त्यो व्यवहार देखी बुबाले अलि कडा स्वरमा भन्नुभयो, "अन्जली, चुप लाग । कहाँ के बोल्न हुन्छ, थाह
छैन है तिमीलाइ । जमाना कहाँ बाट कहाँ पुगिसक्यो, तिमी चाँहि यही जातभातका कुराले
अल्झिराख ।" बुबा र म त
घरबाहिर आमाले थाह नपाउने गरी पनि मासुका परिकार खान्थ्यौ । तर आमाको बाहुनवादलाइ
कसैको कुराले हटाउन सक्दैनथ्यो । यत्ति कुरा पछि आमा रिसले चुर हुँदै तुरून्त
निस्किनुभयो । म, बुबा र लमी दिदी पनि त्यहाँ बसिरहन उचित नहुने देखेर लमी दिदीले
तत्काल भन्नुभयो, "माफ
गर्नुहोला, यस्तो अवस्था आउला सोचेको थिइन ।" त्यसपछि
हामी निस्कियौं र म भने लक्ष्मीलाइ हेर्दै कोठाबाट निस्किएँ । उहाँहरू केही बोल्न
भएन, सायद हामीले उहाँहरूको बेइज्जतिको सिमा नहुने गरी बेइज्जत गर्देका थियौं । उहाँहरू सित केही शब्द थिएन, हामी सित पनि केही शब्द बाँकी रहेन ।
मैले लक्ष्मी सित एक शब्द साट्न नपाइ त्यहाँ बाट निस्किन पर्यो ।
एकछिन त्यहाँ
नबस्ने निधो गरिसक्नुभएकी मेरो आमा सित वादविवाद गर्ने कुरा नि रहेन । गाडी चलाएर त्यस घरबाट निस्कियौं । गाडी भित्रै आफै कराइरहनुभएको
थियो "अझ झरेका बाहुन रैछन् ।" भित्र
भित्रैको मेरो रिस कहाँ पोख्ने जस्तो भइरहेथ्यो, अचानक साँगाको घुम्तीमा एक
मालवाहक ट्रक हाम्रो कारको अघिबाट बाटो काट्यो । मैले त्यति बेला न ट्रक देखें, न
त ब्रेकमा नै खुट्टा लान भ्याँए ।
***
भोलि पल्ट होस
आएसी पो थाह भयो हामी चारैजना धुलिखेल अस्पतालको बेडमा पुगेको रहेछौं । मलाइ,
बुबालाइ र लमी दिदीलाइ सामान्य चोट लागेको थियो भने आमालाइ अलि धेरै । उहाँलाइ अझै होस आएको थिएन । उहाँको होस आउन अझै
केही घण्टा लाग्ने बताइयो ।
साइडको डाक्टरको
रिपोर्ट कार्ड पल्टाएर हेरें । त्यहाँ दस्तखत र नाम थियो, "डाक्टर नरनाथ सापकोटा ।" ट्वाल्ल परेर रिपोर्ट कार्ड हो या लमी दिदीले
भने झैं निमन्त्रणा पत्र हो, पल्टाउँदै थिएँ, अचानक त्यहाँ एप्रन लगाएका उही
लक्ष्मीका बुबा 'नरनाथ सापकोटा' को प्रवेश भयो र भन्नुभयो, "दैवले
ठूलो साथ दिनुभयो । दुर्घटनाको खबरले हामी तुरून्तै त्यहाँ पुग्यौं, यहाँ
ल्याइपुर्यायौं । तपाँइहरू सबै अचेत अवस्थामा हुनुहुन्थ्यो ।" र केही बेरको विश्राम पछि अलि जोड लगाएर भन्नुभयो, "तपाँइको आमाको स्थिति भने नाजुक थियो । उहाँ कमजोर पनि हुनुहुँदो रहेछ । होश आउन अलि बेर लाग्नेछ.. र अब उहाँलाइ पुन सकुशल हुन माछा मासु चाँहि खानै पर्ने हुन्छ ।"
म वाक्क परिरहें । मुखबाट कुनै शब्द नै निस्किएन । म आमाको होस आउने पर्खाइमा नै रहें ।
म वाक्क परिरहें । मुखबाट कुनै शब्द नै निस्किएन । म आमाको होस आउने पर्खाइमा नै रहें ।
Comments
Post a Comment