नाकाबन्दी डायरी


"दाइ, अलि अगाडी गइदिनोस ।" सँधै पछाडि गइदिनोस भन्ने गाडीका सहचालक यसपाली अगाडी गइदिनोस भनेको देखेर एकछिन त अचम्मै परियो । त्यसपछि मात्रै पो याद भयो हामी त गाडीको छत यात्रामा थियौँ ~ इन्धन अभावका कारण । लगत्तै सहचालक भाइ भित्र कराउन थाले, "दाइ पछाडि जानुस । खुट्टा सार्नुस ।" भित्र रहेका यात्रु सायद सक्दो भित्र नै गएका थिए तर सहचालक भने गाडी भित्र खाली नै खाली ठाउँ मात्र देख्दै थिए । उनले मान्छेलाइ भेडा र बाख्रा सरह कोच्दै थिए । गाडी भित्र घाँस पराल हाल्देनन् भन्ने सम्म हो, नत्र त भित्र उनले मज्जैले गाइ भैंसी लाइ झैं व्यवहार गर्दै थिए ।

यसो त सामान्य अवस्था मै पनि सहचालकले यात्रुहरुलाइ गर्ने रुखो व्यवहार, त्यसमाथि अहिलेको इन्धनको चरम अभावका कारण चलेको थोरै गाडीका कारण यात्रुहरु झुन्डेरै र छत यात्रा गर्न बाध्य छन्, यस्तो अवस्थामा न त सहचालकलाइ केही भन्नै मिल्यो न त गाडी नै छोड्न मिल्यो । सहचालक हाम्रा गुरु र हामी उनका आज्ञाकारी विद्यार्थी झैं भएका थियौँ । सँधै एकजना सहचालक हुने गाडीमा अहिले तीन जना सहचालक थिए । एकजना भित्र यात्रुहरु कोचाउँथे र भाँडा उठाउँथे, अर्को ढोकामा बसेर यात्रु मिलाउने बोलाउने र गाडी रोक्ने, अनि अर्को छतमा यात्रु राख्ने र झार्ने ।

"दाइ भाँडा दिनोस ।", सहचालक छतमै भाँडा उठाउन आए । कार्ड भएको कारण दश रुपैँया उनलाइ थमाएँ । "दाइ, कार्ड डिस्काउन्छ छैन, अर्को दश दिनुस ।" उसै त छतको जोखिम यात्रा, छतमै कोचाकोच, झन कार्ड डिस्काउन्छ छैन भनेसी कन्सिरी का रौँ ठाडो भएर आए । "किन छैन डिस्काउन्ट ? आज नेपाल बन्द होइन, हडतालमा नि जोखिम मोलेर चलाएको पनि होइन, कार्ड नभएको पनि होइन, पेट्रोल अभाव भएर कार्ड डिस्काउन्ट नदे भनेर सरकारले भनेको पनि छैन । तिम्रो मनपरी चल्छ यहाँ ?", यति भनेसी उनी के के फलाक्दै हिँडे, मैले मतलब पनि गरिन । गाडी बसपार्क पुगेपछि छत बाट झरेर लागें कार्यालय तिर । सँधै १० बजे पुगिने कार्यालय आज पुग्दा ११ बजेको रहेछ ।

***


दिउँसो १ बजे खाजा खाने समय थियो । सँधै खाजा खाने ठाउँको सटरमा एउटा सूचना पो टाँगिएको थियो - "ग्याँस अभावका कारण पसल बन्द हुन पुगेको छ ।" लौ बर्बाद भयो, यस्तो भोक लागेको बेला त्यो पसल मात्र हैन, अरु कुनै पनि खोलिएको थिएन । सबैको उही समस्या त थियो । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण सर्वसाधारण जनताहरुको चुलोमा धेरै असर गरेको थियो । घरमा दुइ छाक खाना पकाउनै को लागि त ग्याँस नभएको बेला पसल, होटलहरु खोल्न पुग्न ग्याँस हुने कुरै थिएन । बल्ल बल्ल एक पसल खुलेको भेट्टायौँ । भित्र गएर साहुजी के छ खाजा, लेराउनुस भनेर भनेको त उनले चिया बाहेक केही बनाउन नसकिने कुरो गरे । लौ त भोक मार्नै पर्यो भनेर चिया र डुनोट भए पनि खायौँ । यो पसलमा पनि ग्याँस सकिएर साहुजीले बल्ल बल्ल मट्टितेल जोहो गरेर चिया पकाएका रहेछन । सँधै १५ रुपैँया पर्ने चियालाइ साहुजीले २५ रुपैया लिए । यसमा वादविवाद गर्ने कुरा पनि थिएन ।

***

बैंकमा आफन्तको खातामा केही नगद हालिदिन पर्ने भएकाले बैंकमा गएँ । बैंक पनि इन्धन अभावको कारण देखाएर तीन घन्टा अगावै बन्द भएको रहेछ । इन्धन अभाव कै कारण बेलुकीको काउन्टर पनि नखुल्ने रहेछ । सोचें हाम्रो देश कति मात्रामा परनिर्भर भएको रहेछ । भारतले नाकाबन्दी गरिदिंदा सुन देखि नुन सम्म असर गर्ने रहेछ ।

***

बेलुकी घर फर्किन बसपार्क पुगें । विहान भन्दा नि विकराल अवस्था थियो यात्रुहरुको । पहिले बसपार्क भरि बसहरु हुन्थे, बसपार्क यात्रुलाइ कुरिरहेका हुन्थे भने अहिले अवस्था ठीक विपरीत भएको छ । बसपार्क भरि यात्रुहरु आ-आफ्नो गन्तव्य फर्कन हतार थिए । सबैको मुहारमा उही चिन्ता थियो, गाडी आउला कि नआउला, आइहाले पनि कसरी चढ्नु ? अझ यस चिन्ता ती वृद्ध वृद्धा तथा महिलाहरुलाइ बढी थियो । पुरुषहरु त छत कै जोखिम यात्रा गरेर भए पनि जान तयार हुन्छन । म पनि सिट पाएँ बल्ल बल्ल त्यो पनि भित्रको हैन, छतको सिट । एकजना बनेपा जाने यात्रु त बानेश्वरमा गाडी चढ्न नसकेर बानेश्वरबाट गाडी चढी आएर बसपार्क आएका रहेछन । सबै यात्रुहरुको मुखमा उही विषयवस्तु थियो "नाकाबन्दी"

८ वर्ष लगाएर बल्ल बल्ल बनाएको संविधानको खुसी साट्न नपाउँदै नेपाली जनता नाकाबन्दीको मार खेपिरहेका छन् । तर पनि यी जनताको मुखमा एक थोपो सरकार प्रति रिस राग देखिँदैन । देश र सरकारको अवस्था सबैले राम्री बुझेका छन् । अंग्रेजसँग को युद्धमा पानी समेत खान नपाएर पनि हार नखाएका वीर बलभद्र कुँवरको गर्विलो इतिहास छ हामीसँग । भारतमा कब्जा जमाएर बसेको अंग्रेज सित समेत झुक्न नपरेको नेपाल भारतसित हार मान्न तयार छैन । जनताहरु साइकल चढ्न तयार छन तर भारतसित झुक्न तयार छैनन् ।

***

घर जाने गन्तव्यमा अोर्लिनासाथ छोरीको फोन आयो, "बाबा, प्याज र लसुन सकिएको छ । लिएर आउनुहोला है ।" तरकारी बजारमा गएर प्याज एक किलो राख्न भनेको साहुजी त ट्वाल्ल परेर मलाइ हेरेको हेरेइ भए । "प्याज किलोको २०० छ सर । एक किलो नै लानुहुन्छ ?", यति भन्न नपाइ म चाँहि त्यहीँ ढल्न सकिन । उनले भने, "के गर्नु सर, नाकाबन्दीले गर्नु गर्यो । बजारमा प्याज नआएको नै तीन हप्ता भइसक्यो ।" लौ त हस भन्दै प्याज किन्न भन्दा मासु सस्तो हुने देखेर मासु पसल तिर हानिएँ । मासु समेत सामान्य अवस्थाको भन्दा दोब्बर महँगो रहेछ ।

घर पुगेर रिमोट हातमा लिएर समाचार लाएँ । नेपाली कांग्रेशका नेता विमलेन्द्र निधि भन्दै थिए, "भारतले नाकाबन्दी लगाएकै छैन ।" झन्क्क रिस उठेर च्यानल फेरें । समाचार यस्तो थियो , "काठमाडौ - निजगढ फास्ट ट्रयाकको निर्माण ठेक्का भारतीय कम्पनीलाइ दिन तीन दल वार्तामा ।" फेरि च्यानल फेरेर अर्को लगाएँ । मधेशी सभासद अशोक राइ फलाक्दै थिए, "भारतले नाकाबन्दी लगाएको हो या होइन, भोलीको पार्टी कार्यालयमा छलफल हुने छ" । टिभी बन्द गर्ने बाहेकको विकल्प देखिन । एकछिन गौर गरें, "भारतले जनतालाइ मात्र हैन, यी नेताहरुलाइ पनि नाकाबन्दीको असर पर्ने गरी नाकाबन्दी गरिदिए हुन्थ्यो ।"




Comments

Popular Posts