तँ र म


समय सँधै कहाँ एउटै हुन्छ र, हुन पनि हुन्न । नत्र मैले त्यो तितो सत्य थाहा पाउने नै थिइँन । त्यो सत्य मैले स्वीकार्न सक्ने पनि थिइन । तर समय साँच्चै एउटा बहुमुल्य ओखती रहेछ जसले सबै सत्य स्वीकार्न मलाई मद्यत गरिदियो । आज म जहाँ छु, त्यहाँ तँ छैनस् । दुख त लाग्छ नै, तर पछुतो लाग्दैन । पछुताएर बस्नु भन्दा त छुट्टिएकै बेस हो नि ।

कुनै दिन थियो मैले तँलाई सबै सोचेँ, मेरो समय सबै तँलाई नै दिएँ तर अब सक्दिन । सँगै हिँड्ने भनेर हिँडेको साथी लड्दा समाउन आइनस्, मलाई निकै दुख लाग्यो । म हाँस्दा मात्र हाँसिस्, म रुँदा रुन सकिनस् या
विर्सेको जस्तो गरिस् । साँच्चै चित्त दुखेको छ मेरो । मुटु दुखेको ओखती हुन सक्छ, तर मन दुखेको ओखती हुँदैन ।

समय कति मूल्यवान छ मलाई राम्ररी थाहा छ । एक मिनेट पनि खेर फाल्न नचाहने मेरो पुरै ८००० घण्टा खेर फालिदिन सहयोग गरिस्, मलाई निकै खुसी लागेको छ । अब कति पनि समय खेर फाल्नु छैन मलाई, तैँले पनि मलाई बधाई दिनै पर्छ । अब तैँले मलाई कहिल्यै पनि सम्हाल्न पर्ने छैन ।

हुन त मैले पनि ख्याल राख्न सक्न पथ्र्यो, हाम्रो उमेर, व्यवहार र स्तर । मैले म जस्तै खोज्न पर्ने थियो । मलाई म नै ठीक थियो । टुसा लाग्दै गरेको विरुवामा मल हाल्न पर्ने थियो, तर मैले आफूलाई र सँगै अरुलाई पनि टुसा हाल्ने निधो गरेँ । मलाई थाह थियो म एक्लै बसेको भए म अझै लड्ने थिइँन । कुहिसकेको आलुलाई सपार्न गाह«ो मात्र हैन, असम्भव नै रहेछ । मैले आज मात्रै बल्ल चाल पाएँ । 

चर्केको सिसालाई सम्भव होला जोड्न, टुक्रको मनलाई जोड्न सम्भव हुँदैन । देखिने घाउ भए मल्हम लगाएर निको पार्ने थिएँ, तर यहाँ मल्हम लगाउन पनि सम्भव भएन ।

बाटोमा एकै मिनेट भेटेको मान्छे त वषौँ याद हुन्छ, तँलाई त मैले यत्राे समय झेलेँ । म बिर्सिन पनि सक्दिन, तर सम्झन पनि चाहन्न । यस बाह« महिनाको सम्झनालाई म कुनै नमिठो सपना ठानेर बिर्सिने कोसिस गर्नेछु ।  सम्झनाहरु सबै  पेनड्राइभमा सँगालेर राख्नेछु र मन एकदमै कौतुहल भए त्यो पेनड्राइभलाई जोडेर हेर्नेछु ।  तर म लडेको चाँहि छैन । निकै मिठो, निकै तितो सम्झनाहरु बाट सिकेर म फेरि उठ्न चाहन्छु , उठ्न कोसिस गर्नेछु र यसपालि पेनड्राइभमा हैन Hard Disk मा सँगाल्ने सम्झना बटुल्नेछु ।

Comments

Popular Posts